Home टपस्टोरी राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान र हितको बर्खिलापमा रहेको बताएका छन्।

एमसीसी संसदबाट पारित गराई छाड्ने प्रधानमन्त्रीको अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै साझाले एमसीसी सम्झौताका केही बुँदा संशोधन नगरी पास गर्न नहुने आफ्नो अडान कायम रहेको जनाएको छ। अन्यथा सम्झौता नै खारेज गरिनुपर्ने साझाको माग छ।

एमसीसी सम्झौता नेपालको कानुन भन्दा माथि हुने, नेपाल सरकारको समेत १३ करोड डलर लगानी रहने आयोजनाको लेखापरीक्षणमा महालेखा परीक्षकको संलग्नता नहुने, नेपालभित्रै निर्माण हुने प्रसारण लाइनका लागि तेस्रो देश भारतको स्वीकृति लिनुपर्ने, नेपाल सरकारको गठन आदेशबाट स्थापित आयोजना कार्यान्वयन एकाइको निर्णय प्रक्रियामा एमसीसी हावी रहने, आयोजनामा रोजगारीका लागि नागरिकताको कुनै बन्देज नहुने, सम्झौताका केही दफा  आयोजना सम्पन्न भइसकेपछि पनि क्रियाशील रहने लगायत सम्झौताका आपत्तिजनक प्रावधानको समीक्षा र सुझावका लागि स्वतन्त्र विज्ञहरूको कार्यदल गठनको माग समेत साझाले दोहोर्याएको छ।

सत्ताधारी दल नेकपाभित्रै, आम नागरिकबाट एमसीसी संसदबाट पारित गर्न नहुने व्यापक आवाज उठिरहँदा पनि समाजका चिन्ता र चासोलाई बेवास्ता गर्दै बहुमतको आडमा एमसीसीलाई पारित गरेरै छाड्ने सरकारको ढिपी दम्भयुक्त र दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ।

पूर्वाधार विकासको द्विपक्षीय अनुदान सहयोगको सम्झौता राष्ट्रिय हितमा दूरगामी प्रभाव पर्न सक्ने गरि अन्तराष्ट्रिय सन्धिको रुपमा  पारित गरिनु वाञ्छनीय नभएको साझाको निष्कर्ष छ।

सरकारका गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस समेत एमसीसी सम्झौताको पक्षमा उभिनु विडम्बनापूर्ण भएको भन्दै साझाले काङ्ग्रेसका नेता सदस्यपंक्ति तथा आम जनसमुदायलाई देशको हितका लागि विना संशोधनको एमसीसी सम्झौताको खारेजीको पक्षमा उभिन आह्वान समेत गरेको छ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here