सङ्कटका बेला डेढ करोडको गाडी किन्दै पानी जहाज कार्यालय

काठमाडौं। कोरोना सङ्कटका बेला नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ। कार्यालयले बुधबार एक सूचना जारी गर्दै फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार गाडी खरिदको लागि कम्पनी छनोट गरेको जानकारी दिएको छ।

कार्यालयले किन्न लागेको एसयूभी चार पाङ्ग्रे गाडीको मूल्य १ करोड ४३ लाख ९८ हजार रहेको छ।

सरकारले अहिले कोरोना संक्रमण विरुद्ध लड्न खर्च अभाव हुनसक्ने भन्दै विभिन्न शीर्षकमा बजेटमार्फत विनियोजन भएका खर्चहरू गर्न रोक लगाएको छ। अर्थ मन्त्रालयले विभिन्न १४ शीर्षकमा खर्च गर्न प्रतिबन्ध लगाएको छ।

चैत २० अघि दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेका बाहेकका कार्यक्रममा रकम निकासा गर्न बाधा नहुने गरी अब बजेटमा खर्च गर्न नदिने निर्णय गरेको छ। यही निर्णयमा टेकेर पानी जहाज कार्यालयले गाडी किन्न लागेको हो। यो गाडी किन्ने बोलपत्र फागुनमै प्रकाशित भएको थियो।

बोलपत्र आह्वान भइसकेको भन्दै पानी जहाज कार्यालयले गाडी किन्ने निर्णय गरेपनि कोरोनाका कारण अर्थतन्त्र तहसनहस भएका बेला गाडी किन्न लागेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here