बालुवाको पहाडतिर रुमल्लिएको क्रान्तिकारी 

- Advertisement -
Loading...

संस्मरण/अनुभूति


- Advertisement -

एउटा पर्वतारोही शिखरमा पुगेको दिन जस्तै हो २०५४ साल आश्विन २५। त्यही दिन थियो, दशैंको टीकाको दिन। बाबा आमाको हातबाट रातो टीका लगाएर जनयुद्धमा हामफालेको दिन। यस्ता बिरलै बाबाआमा भेटिएलान् आफ्ना सन्ततिलाई निसङ्कोच युद्धमा पठाउने। त्यसैले त मेरो जिन्दगीको दशावतार बाबाआमा नै हुन्। एकमुठ्ठी प्राण रहेसम्म बाबाआमाप्रति उत्तरदायी हुनेछु। त्यसैले मेरो बाबाआमालाई सलाम गर्न चाहन्छु। सत्र वर्षको कलिलो उमेरमा एकसरो कपडा र एउटा डायरी झोलामा बोकेर जनयुद्धमा लामबद्ध हुँदा सोचेको थिएँ अब संसार जितिन्छ। हामीले चाहेको युग ल्याइन्छ। मेरो विगतको विवशता यो थियो कि बाबाले कहिले आलम्पुको ढुङ्गाको भारी, कहिले चरिकोटबाट साहुको भारी बोकेर पढाउनुभयो। आमाले रातदिन मेलापात गरेर पोल्टामा खाजा ल्याएर हुर्काउनुभयो। मलाई त्यो दिनको झल्झली याद आउँछ। आमा मेला जानुहुन्थ्यो। आमालाई दिएको खाजा हामी चार केटाकेटीलाई ल्याएर दिनुहुन्थ्यो। आमाले भोकभोकै काम गर्नुहुन्थ्यो। बाबाले साहुको भारी बोकेर कोदो ल्याउनुहुन्थ्यो र कोदोको खोले खाएर रात कटाउँथ्यौ। मलाई यिनै भयानक समस्याहरू देख्दा  पिरलो लाग्थ्यो। हुन त मैले पनि आलम्पुको ढुङ्गाको भारी धेरै बोकेँ। बाह्र वर्षको उमेरदेखि हलो जोतेँ।  मेलापात गरेँ। भारी बोकेर पढाई खर्चको जोहो गरेँ। कहिले बाबाआमा, भाइ र म ढुङ्गाको भारी बोक्न जान्थ्यौँ। आलम्पुदेखि क्षमावतीसम्म ढुङ्गाको भारी बोक्दा तोरीखेतको उकालोमा भाइले भारी बोक्न नसकेर रुँदै हिँडेको दिन कहिल्यै बिर्सन सक्दिनँ। सम्झँदा अहिले पनि मुटुमा गाँठो परेर आउँछ। यसरी भारी बोक्दा पनि बाबाले कम्युनिस्टको कथा खुब सुनाउनुहुन्थ्यो। पीडा भुलाउने प्रयत्न गर्नुहुन्थ्यो। माक्र्स, एङ्गेल्स, लेनिन, स्टालीन र माओका कुराहरू खुब गर्नुहुन्थ्यो। क्रान्ति र आन्दोलनका कुराहरू खुब गर्नुहुन्थ्यो। आमाले पनि विदेशी नामहरू स्पष्ट उच्चारण गर्न नआए पनि जेनी, क्लारा र ताओचिङ अनि ल्यूहुलानका कथाहरू खुब सुनाउनुहुन्थ्यो। नारी दिवस र महिला आन्दोलनका कुराहरू गर्नुहुन्थ्यो। हाम्रो पनि एकदिन सुदिन आउँछ भन्नुहुन्थ्यो। मलाई चाहिँ अचम्म लागेर आउँथ्यो। कहाँबाट, कसरी जानेका होलान्? कसले सिकाइदिएका होलान्? भनेर ! बाबाआमा २०३६ सालदेखि नै कम्युनिस्ट पार्टीमा झुकाव राख्नु हुँदोरहेछ। जनमत सङ्ग्रह हुँदा बाबाआमाले बहुदलको पक्षमा मतदान गर्नुभएछ। २०४० सालको पिस्कर हत्याकाण्डपछि भूमिगत रूपमा सङ्गठनको काम गर्दै आउनुभएको रहेछ। मलाई अलिअलि थाहा छ कि भूमिगत नेताहरू अमृत बोहरा, केशव बडाल, माधव पौडेलहरू आएर चोटामा बसेको र कसैलाई नभन्नु भनेको दिनको पनि झल्झली याद आउँछ। सङ्गठनको लागि बाबाले सिजनका बालीहरू गहुँ, कोदो, धान, मकै एक एक पाथी जम्मा गर्नुभएको। पिस्कर हत्याकाण्डपछि बहुदल नआएसम्म बाबाआमा खुब हिंड्नुभयो। बाँकी समयमा मेलापात, घाँस(दाउरा, भरियाको काम गरेर हामीलाई स्कुल पढाउनुभयो। त्यही भएर अलिकति राजनीतिक चेत सानै उमेरदेखि जागृत भएकोले मलाई मुक्तियुद्धमा हाम फाल्न सजिलो भयो।

घरको अवस्था बहुदल आएपछि र २०४७ सालको संविधान बने पनि हामी जस्तै श्रमजीवी जनताको स्थिति नाजुक भएकोले गर्दा नै जनयुद्धमा लामबद्ध भएको थिएँ। गुरिल्ला तालीम गर्न पाईन्छ भन्ने उत्सुकताले निकै चन्चल पनि नबनाएको होइन। जनयुद्धमा लामबद्ध भएपछि दुश्मनको श्वेत आतंक झन बढेर गयो। २०५५ साल असार ५ गते किलो शेरा टू भन्ने अप्रेशनको बेलामा भएको नयाँपूल भिडन्त हुँदा आफू मरेको खबर घरमा आयो। त्यहाँदेखि झन् गाउँमा  चर्को दमन हुन थाल्यो। यस्तै विषम परिवेशले गर्दा सिंगो परिवार नै क्रान्तिमा होमिन बाध्य हुनुपर्यो। हाम्रो ६ जनाको सिंगो परिवार घरमा ताल्चा लगाएर हिंडेका थियौं। सानो भाइ र सानो बहिनी क्रमशः ६ कक्षा र ५ कक्षा पढ्दापढ्दै हिंडेका थिए। यी क्षणहरू छातिमै किला गाडिए झैं गाडिएको छ। एवं रितले जनयुद्धमा सामेल भएपछि सानाठूला गरी करिब तीन दर्जन लडाइँहरूमा सहभागी भईयो। कहिले वार्ताको मोर्चा त कहिले भयानक युद्ध मोर्चाहरुमा सामेल भईयो। सयौं सहयोद्धाहरु गुमाईयो। मेरै गाउँमा पनि एघार जना कमरेडहरूको शहादत भयो। २०५७ साल चैत्र १९ गते मैनापोखरी मोर्चामा गम्भीर घाइते भएको दिनलाई कहिल्यै पनि बिर्सन सक्दिनँ। वार्ताकालमै भएको दोरम्बा हत्याकाण्डलाई पनि कहिल्यै बिर्सन सक्दिनँ। त्यहाँ मेरो कम्पनीको एउटा सेक्सन परेको थियो। त्यसैगरी सल्लेरीदेखि रुम्जाटार हुँदै चौतारासम्मको मोर्चाहरुलाई सम्झँदा कहाली लाग्छ। रणनीतिक प्रत्याक्रमणको धक्का सफल पार्न धूलीखेल सदरमुकाम रेक्की गर्न जाँदा दुश्मनको कब्जामा परेको क्षणलाई पनि कहिल्यै बिर्सन सक्दिनँ। दुश्मनका यातनाहरू यति कहालीलाग्दो थियो कि बयान गरि साध्य छैन। विशेष गरी थानकोट र दधीकोट सफल आक्रमणपछि धूलीखेल सदरमुकाम कब्जा गर्ने फौजी योजना आएको थियो। म दुश्मनको कब्जामा परेपछि यो योजना रद्द भएको थियो र जनमुक्ति सेनाले झूरझूरे र पनौती मोर्चा वीरतापूर्वक लडेको थियो। यी कालखण्डहरू मेरा अविस्मरणीय भोगाईहरू हुन्। भोगाईहरू सपना जस्तै आनन्ददायक नहुँदोरहेछ। यी र यस्तै वर्गसंघर्षको ज्वारभाटाबाट पैदा हुने रहेछ। क्रान्ति त आँसु, हाँसो, आक्रोश र आवेगको बीचबाट गुज्रिने दावानल रहेछ।

वर्गसंघर्षका यी पेचिला दिनहरूमा ईमान्दरीपूर्वक लडियो। सबथोक क्रान्ति हो, पार्टी हो भनेर दिलोज्यान दिईयो। बेइमानी गर्नुहुन्न, ईमान्दार बन्नुपर्छ भनेर साथीहरूलाई पनि सिकाईयो। तर कतिपय नेताका छोराछोरीहरू क्रान्तिको पेचिलो समयमा ईन्डिया बसेर पढ्थे। पार्टीले उनीहरूको सम्पूर्ण खर्च ब्यहोथ्र्यो। यस्तै रहेछ क्यारे भन्ने लाग्थ्यो। नेता नभए क्रान्ति कसरी हुन्छ? भन्ने लाग्थ्यो। नेताका पछाडि लाग्ने कार्यकर्ताहरू पनि खूब सान देखाएर हिंड्थे। महंगा महंगा सामानहरु बोकेर हिंड्थे। हाम्रो टोलीलाई क्यानबुट किन्ने पैसा नभएर हिउँमा पनि  खाली खुट्टा हिंड्नु परेका थुप्रै दिनहरु सम्झनामा ताजै छन। पार्टी शान्ति प्रक्रियामा आएपछि पनि यू. एन. ओ. को छाप लागेको बन्दुक कुरेर पाँच वर्षको क्यान्टोनमेन्टको जोगीले कुटी कुरे झैं गरेको तपस्या अविस्मरणीय रह्यो। साहस र हिम्मत गरेर भन्नुपर्छ जनयुद्धभित्रको खतरनाक एउटा प्रवृति के थियो भने गणेश प्रवृति। नेताका वरिपरि चक्कर काट्नेहरूको नै हालीमुहाली हुन्थ्यो। पद, प्रतिष्ठा र पावर उनीहरूसँगै हुन्थ्यो। नेताहरूले पनि वास्तविक क्रान्तिकारीहरू त यिनै हुन् भन्ने तरिकाले सोच्थे। यही प्रवृतिले गर्दा पार्टी शान्ति प्रक्रियामा आएपछि जनयुद्धबाट धनयुद्धमा परिणत भयो। र पार्टी स्खलित भयो। जनताका मुक्तिका सपनाहरू बीच बाटोमै हरायो। यो एउटा महारोगको रूपमा देखाप‍र्यो। यो प्रवृतिलाई हजारौं, लाखौंपटक दुत्कार्दा पनि कम हुन्छ। त्यही प्रवृति बोकेका नेताका पुच्छरहरू अहिले पनि ऐस आरामको  जिन्दगी बिताईरहेकाछन। पद, पैसा र पावर उनीहरूसँगै छ। ठूलाठूला ठेकेदारहरू उनीहरूकै हातमा छ। महल र पजेरो उनीहरुकै छ भने हामी जस्ता पार्टी नै सबथोक हो भन्ने कार्यकर्ताहरू विदेशी गल्ली गल्लीमा कामको खोजीमा भौंतारिंदै हिंडिरहेका छौं।

कोही हिउँ फूल्ने कोरियाका पाखाहरूमा आलु खनीरहेका भेटिन्छन। कोही घोडा फार्म र बंगुर फार्महरूमा काम गरिरहेका भेटिन्छन्। कोही यूरोपका शीत मैदानहरूमा काम गरिरहेका भेटिन्छ्न। भने कोही अरबको पचास डिग्रीको घाममा जोतिईरहेका भेटिन्छन। खजुर र खबुससँग निकै मित्रता गाँसिएको भान हुन्छ। यही अनकण्टार मरुभूमिमा कोही भेडा चराईरहेका भेटिन्छन्। कोही मलेसियाको अपार्ट्मेन्ट र कारखानाहरूमा चौकीदारी गरिरहेका भेटिन्छन्। म पनि यही पचास डिग्रीको घामको रापसँगै जीवनका पानाहरू पल्टाईरहेको छु। भरीयाको जिन्दगी दस वर्षे जनयुद्ध लडेर पनि भरियामै आएर सीमित हुँदा आक्रोश र आवेग तूफान जस्तै भएर आउँछ। नेताका जिन्दगी फेरिए। ईमानदार कार्यकर्ताका जिन्दगी फेरिएनन। तिनका आसेपासेका जिन्दगी फेरिए हाम्रा जिन्दगी फेरिएनन। यी गलत प्रवृतिका विरुद्ध जिन्दगी रहिरहेसम्म लडिरहने छु। तर मलाई जनयुद्ध लड्नु परेकोमा कत्ती पनि रत्ती पनि आत्मग्लानी चाहिँ छैन। जनयुद्धले गर्दा दूररदराजका बस्तीहरूमा चेतनाको विकास भयो। अन्यायका विरुद्ध सदैव लडिरहनुपर्छ भन्ने साहस पैदा भयो। प्रक्रिया गलत हुनु र नेतृत्वले बेलैमा सोच्न नसकेका परिणामहरू हुन्। यसले कति विरह र वेदना पोखेको होला? भन्ने पनि लाग्ला तर गलत प्रवृतिका विरुद्ध हजार बार लड्न सक्नुपर्छ। म आफनै पौरखमा विश्वास गर्ने मान्छे भएकोले नै कसैको भर पर्न चाहन्न। लडाइँमा मरिसकेको मान्छे र आधा जिन्दगी बोकेर हिँडेको मान्छे भए पनि म आफ्नो कर्ममा विश्वास गर्छु। यहाँ यस्तै छ लालीगुराँस फूल्ने पाखाहरू छैनन्। आफ्नै भाकाहरू छैनन्। सुनपाती र धूपीका बास्नाहरु छैनन्। छन त केवल सिमेन्टको जङ्गल। बालुवाका उजाड र उराठलाग्दा पहाडहरू। गगनचुम्बी महलहरु, प्रकाश सपुतको गीत जस्तै पानी फ्रीजको, हावा एसीको। हाम्रो मनोरम, प्राकृतिक छटाले भरिपूर्ण शैलुङको सय थुम्का जस्तै तर उराठलाग्दो बालुवाका सयौं पहाडका बीचबाट मुक्ति या मृत्युको शपथ खाएर हिँडेको दिनलाई सम्झंदै यही बालुवाकै पहाडतिर रुमल्लीरहेको छु।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

चीन भ्रमण फलदायीः मुख्यमन्त्री पोखरेल

रुपन्देही। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीन भ्रमण फलदायी भएको बताएका छन्। विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदानप्रदानका...

कृषि क्षेत्रमा कामदार लान जापान इच्छुक

काठमाडौं।नेपालबाट विशिष्टीकृत सीप भएका कामदार लैजान सुस् गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ। जापानको कृषि,...

चालकले अपाङ्ग यात्रु बोक्न नमानेपछि विवाद

काठमाडौं।खोटाङमा गाडीले अपाङ्ग यात्रु बोक्न नमानेपछि विवाद भएको छ। सोमबार हलेसीबाट दिक्तेलतर्फ जाने गाडीमा रुपाकोट मझुवागढी नगरपालिका हुर्लुङका अपाङ्ग पाशाङ...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।