Loading...

काठमाडौं।सभामुख कृष्णबहादुर महरामाथि दुर्व्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफूमाथि दुर्व्यवहार नभएको बताएकी छिन्।

मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफू चारपाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन्।

‘मेरी आमाको निधन भएपछि म मानसिक रुपमा कमजोर भएको छु। निद्रा नलाग्ने भएपछि औषधि खानुपर्ने स्थिति थियो’, उनले भनिन्। चिकित्सकले बिहान र बेलुकी एकएक ओटा चक्की औषधि खान सुझाव दिए पनि रिस उठेमा आफूले कहिलेकाहीँ एकै चोटि ५/६ तथा दश वटा पनि औषधि खाइदिने गरेको उनले सुनाइन्।

‘आवेगका क्रममा कसलाई फोन गरेँ, कसलाई के भनेँ, के बोलेँ भन्ने नै पत्तो नपाउने उनको भनाइ छ। ‘शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला’, उनले भनिन्। ‘कहिलेकाहीँ कोहीकसैसँग रिस उठ्यो भने औषधिको मात्रा बढी खाइदिने मेरो समस्या हो। एक्कासि औषधिको मात्रा बढाएपछि अत्यन्त रिस उठ्ने, कसलाई के भन्ने नै थाहा नहुने समस्या छ। कसलाई फोन गरेँ, कसलाई के गरेँ भन्ने नै थाहा पाउँदिन’, उनले भनिन्।

केही वर्षअघि स्वयं आफू पनि सञ्चारकर्ममा रहेको सन्दर्भ पेश गर्दै उनले अहिले सञ्चारमाध्यमले ‘हाइलाइट’ हुने नाममा कोहीकसैलाई दोषी करार गर्न लागिपरेको देख्दा आफू अचम्मित भएको समेत बताइन्।

आफूले सभामुखलाई सधैँ अभिभावकका रुपमा हेर्ने गरेको उल्लेख गर्दै उनले आफूहरुको पारिवारिक सम्बन्ध रहेको पनि बताइन्।

‘विसं २०४७ देखि नै हामी महरा सरलाई चिन्छौँ। हाम्रो परिवारिक सम्बन्ध रहेको छ। सभामुख भएपछि मात्र हाम्रो चिनजान भएको होइन’, उनले भनिन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...