Loading...

काठमाण्डौं ।
पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले आफ्नो नाममा एक सहकारीमा श्रोत नखुलेको ६१ करोड रुपैयाँ भएको समाचार झुटो भएको बताएका छन्। शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी बस्नेतले ६१ करोड रुपैयाँ बचत रहेको भन्ने समाचारको खण्डन गरेका हुन।

मिडिया काउन्सिल विधेयकको आफूले विरोध गरेका कारण सत्तारुढ नेकपाका केही नेताहरू आफ्नो बदनाम गराउन लागिपरेको बस्नेतले आरोप लगाए। समाचारमा उल्लेख भएको प्रणामी बचत तथा ऋण सहकारी संस्थामा आफ्नो र आफ्नो परिवारका नाममा कुनै खाता नभएको बस्नेतको स्पष्टोक्ति थियो। उनले आफ्नो नाममा श्रोत नखुलेको ६१ करोडको समाचार सार्वजनिक भएपछि मात्रै उक्त सहकारीको नाम सुनेको दाबी गरे।

पत्रकार सम्मेलनमा उक्त सहकारी संस्थाले विज्ञप्ति नै निकालेर  आफ्नो नाममा कुनै खाता नरहेको बताइसक्दा पनि  आफ्नो सामाजिक तथा राजनीतिक प्रतिष्ठा माथि आँच पुर्याउन सत्तारुढ नेकपाका केही नेताहरू नियोजित ढङ्गले लागेको उनले बताए।

काठमाडौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा स्रोत नखुलेको ६१ करोड रुपैयाँ बचत रहेको र सो सम्बन्धमा अख्तियारले छानविन प्रक्रिया अघि बढाएको समाचार केही सञ्चार माध्यममा आएको थियो ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...