Loading...

सुर्खेत।
साझा विवेकशील पार्टीका नेताहरुले सुर्खेत लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपत्यका नगर विकास समिति मार्फत दलहरु र दलका भातृसंगठनले भागवण्डा गरेका सरकारी जग्गा राष्ट्रियकरण गर्ने बताएका छन। भ्रष्टाचार विरुद्धको सुदुरपश्चिम प्रदेशको अभियान सकेर सुर्खेत आईतबार सुर्खेत आएको साझा नेतृत्वले वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा दलिय भागवण्डामा परेको सरकारी जग्गा राष्ट्रियकरण गरिने जनाएको हो।
सुर्खेतमा सर्वसाधारणबाट सरकारले अधिकरण गरेको जग्गा उपत्यका नगर विकास समिति मार्फत विभिन्न राजनीतिक दल तथा तिनका भातृसंगठनले भागवण्डा गरि आफ्ना कार्यालय भवन बनाउन प्रयोग गरेकोले उक्त जग्गा सरकारलाई फिर्ता गर्न दबाब दिने निर्णय साझाको कर्णाली प्रदेश समितिले गरेको थियो। प्रदेश समितिको निर्णयमा आफ्नो तर्क राख्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आफ्नो पार्टीको सरकार गठन हुनासाथ दलिय भागवण्डामा परेका सरकारी जग्गा राष्ट्रियकरण गरिने बताए।
पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले कर्णाली पर्यटन बर्षको उद्घाटनका क्रममा भएको भ्रष्टाचारको विषय बाहिर आएको भन्दै अख्तियारले तत्काल कार्वाही गर्नुपर्ने धारणा राखे। आफ्नो पार्टी भ्रष्टाचारको विरुद्ध उभिएको भन्दै दाहालले अख्तियारले बलियोसँग पर्यटन बर्षको उद्घाटनमा भएको भ्रष्टाचारबारे छानवीन गर्ने हिम्मत गरे आँफुहरु अख्तियारलाई सहयोग गर्न तयार रहेको बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य केशव दाहालले पछिल्लो समय स्थानीय तहमा भए गरेका भ्रष्टाचारका विषय बाहिर आएको भन्दै यस्लाई रोक्न स्थानीय तहको निर्वाचन गैरदलिय हुनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको स्पष्ट पारे।
पार्टीका संयोजक रवीन्द्र मिश्रले समतामुलक संवृद्धिका लागि भ्रष्टाचार रहित समाज पहिलो आवश्यकता भन्दै भ्रष्टाचार नियन्त्रण गर्नुको विकल्प नरहेको बताए। भ्रष्टाचार विरुद्धको सचेतना अभियान कर्णाली प्रदेशमा पनि शुरु गरिने मिश्रले जानकारी दिए।
अन्तरक्रियामा कर्णाली प्रदेश सरकारले अनियमित तवरले खरीद गरेका गाडीहरू र करोडौको कार्यालय व्यवस्थापनका लागि गलत नियत राखि खरीद गरेका सामाग्रीहरूमा भएको अख्तियारको छानविन दबाव र प्रभावमा नपरी निष्पक्ष  हुने विश्वास व्यक्त गरिएको थियो।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...