Loading...

एजेन्सी।
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले भ्रष्टाचारकोे आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्।

आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पुर्‍याइएको थियो। बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गरेका थिए।

घटना भएको थाहा पाएपछि उनका समर्थकहरू अस्पतालबाहिर जम्मा भएका थिए। प्रहरीले उनीहरूलाई अगाडि बढ्नबाट रोकेका थिए।

गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओडुब्रेस्टबाट घुस लिएको आरोप थियो। उक्त आरोप उनले अस्वीकार गर्दै आएका थिए।

गार्सियाले सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए।

घुस लिएको आरोपको सम्बन्धमा उनलाई पक्राउ गर्न प्रहरी अधिकारीहरूलाई पठाइएको थियो।

पेरुका आन्तरिक मामिलामन्त्री कार्लोस मोरानले पत्रकारहरूलाई बताए अनुसार उनको निवासमा प्रहरी पुग्दा फोन गर्न भन्दै एउटा कोठामा गएर उनले ढोका बन्द गरेका थिए।

त्यसको केही मिनेटमा गोली चलेको आवाज आयो। प्रहरीले ढोका खोल्दा टाउकोमा गोली लागेको अवस्थामा उनी कुर्सीमा बसिरहेका थिए।

त्यसपछि लिमास्थित एउटा अस्पताल पुर्‍याइयो जहाँ उनको शल्यक्रिया भयो, तर उनी बाँच्न सकेनन्। बिबिसीले आफ्नो अनलाईन संस्करणमा यो समाचार लेखेको छ।

वर्तमान राष्ट्रपति भिस्काराले एउटा ट्वीट गर्दै पूर्वराष्ट्रपतिको निधनको खबरले आफू “स्तब्ध“ भएको बताएका छन् र उनका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...