Loading...

काठमाण्डौं।
विवेकशील साझा पार्टीले सरकारी स्वामित्वमा रहेको बहुमूल्य जग्गा राजनीतिक नेतृत्व, भु माफिया र व्यवसायीको मिलेमतोमा अपचलन भएको भन्ने समाचारप्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले शुक्रबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा हुनुले डरलाग्दो संकेत गरेको उल्लेख छ।
विज्ञप्तीमा बौद्धस्थित ह्यात रिजेन्सी होटलले गैरकानुनी रुपले सयौं रोपनी जमिन अपचलन गरेको संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले ठहर गरेको भन्दै दोषीलाई कार्वाही गर्न र सरकारी सम्पत्तिको संरक्षण गर्न सरकारसँग माग गरिएको छ।
भ्रष्टाचार र कुशासनका घटनामा सत्यतथ्य सार्वजनिक गर्नमा सञ्चारमाध्यमले खेलेको भुमिका प्रति विवेकशील साझाको उच्च सम्मान रहेको विज्ञप्तीमा उल्लेख छ।
विवेकशील साझाले राज्य दोहन र भ्रष्टाचारका विरुद्ध उभिन पनि सबैलाई अपिल गरेको छ।

विज्ञप्तीको पूर्णपाठः
प्रेश विज्ञप्ति: सरकारी जग्गा अपचलन बारे

राजधानीका विभिन्न भागमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भु-माफिया’को मिलेमतोमा अपचलन भएको समाचारप्रति विवेकशील साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।

प्रधानमन्त्रि निवास समेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनुले सरकारी जग्गा अपचलन गर्ने गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत गरेको छ। यो बारेमा अनुसन्धान र आवस्यक कारवाहिको लागि नेपाल सरकारले गरेको पहललाई विवेकशील साझा पार्टी स्वागत गर्दछ।

त्यस्तै गरि वौद्धस्थित हायात रिजेन्सी होटलले गैरकानुनी तवरले सयौँ रोपनि सरकारी जग्गा अपचलन गरेको संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले ठहर गरको छ। सो प्रकरणमा पनि आवस्यक अनुसन्धान गरि सरकारी सम्पत्तिको संरक्षण गर्न र दोषीलाई कारवाहिको दायरामा ल्याउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौँ।
बढ्दै गएको भ्रष्टाचार र अनियमितताका यस्ता घटनाहरुले सरकारको विश्वसनियतामा आँच पुग्नेमात्र होइन त्यसले ठूला विदेशी लगानीका संभावनाहरूमा समेत प्रतिकूल असर पार्दछ।
भ्रष्टाचारका मामिलामा शुन्य सहनशीलता अख्तियार गर्ने विवेकशील साझा पार्टी बालुवाटार तथा हायात रिजेनस्सीका घटनाहरू विगतका अधिकांश छानविनमा जस्तै दोषीलाई उन्मुक्ति दिने ढङ्गबाट औपचारिकतामा मात्र सिमीत नहोस भनि खबरदारी गर्न चाहन्छ।

भ्रष्टाचार र कुशासनका घटनाको सत्यतथ्य सार्वजनिक गर्नमा सञ्चार माध्यमले खेलेको महत्वपूर्ण भुमिकाप्रति हाम्रो पार्टी हार्दिक सम्मान व्यक्त गर्न चाहन्छ।

राज्य दोहन र भ्रष्टाचारको ‘क्यान्सर’ विरुद्धको अभियानमा समाजका सबै अंगको खबरदारी अपरिहार्य छ। यो अभियानमा विवेकशील साझा पार्टी अग्रपंक्तिमा कृयाशील रहन प्रतिवद्ध छ।

डा. सूर्यराज आचार्य
प्रवक्ता, विवेकशील साझा पार्टी
मितिस् २९ चैत्र २०७५

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...