-सूर्यदीप रेग्मी
Loading...

केहि दिन यता सामाजिक सञ्जालमा विवेकशील साझा पार्टी विरुद्ध नियोजित प्रचारवाजी भैरहेको छ। यो प्रचारबाजी नागरिकको स्तरबाट भएको भने होईन, विवेकशील साझा पार्टी छोडेर अर्कै दल खोल्छौँ भन्ने दुई चार व्यक्तिहरुबाट भएको हो।

यो नियोजित प्रचारबाजीका मूलतः दुईवटा कारण सतहमा देखिन्छन्: पहिलो कारण- बारा पर्सामा विनाशकारी हावाहुरी पछि विवेकशील साझाका स्वयंसेवकहरु तत्काल उद्धार, राहत र पिडितहरुको व्यवस्थापनमा खटिनु। दोश्रो कारण: विवेकशील साझा पार्टीबाट प्रदेश नं. ३ को संसदमा प्रतिनिधित्व गर्ने २ जना सांसदहरुले पार्टी छोडेर गईसकेपछि उनीहरुको पद खारेजीका लागि पार्टीले ३ नं. प्रदेशको संसद सचिवालयमा पठाएको पत्र।

जति पनि तर्क वितर्कहरु यो साता भएका छन, यिनै दुईवटा कारणको पेरीफेरीमा छन तर यस्को अन्तर्य अन्य विषयसम्म लुकेको छ। सबैभन्दा पहिले पहिलो कारणबारे चर्चा गरौं:
बारा पर्सामा विनाशकारी हावाहुरी गएपछि विवेकशील साझा पार्टीको सम्पूर्ण संयन्त्र उद्धार, राहत र पिडितहरुको व्यवस्थापनका लागि हावाहुरी प्रभावित क्षेत्रमा खटियो । पिडितहरुको उद्धारमा जुटिरहेका विवेकशील साझाका स्वयंसेवकहरु बारामा त्रिपाल व्यवस्थापन गर्दै गर्दा सामाजिक सञ्जालमा केही थान मानिसहरुका कुतर्कहरु आईसकेका थिए, उनीहरु भनिरहेका थिए, ‘विवेकशील साझाले बारा पर्सामा राजनीति गर्यो, राहात र उद्धारका नाममा तराजु अंकित टिसर्ट लगाएका कार्यकर्ता परिचालन गर्यो अर्थात समाजसेवाका नाममा राजनीति गर्यो।’

कुतर्कहरुका जवाफ कुतर्कहरुबाटै दिन सकिन्थ्यो फेरि उद्धार र राहतमा पूरै संयन्त्र परिचालन गरेको पार्टी नेतृत्वले यस्ता कुतर्कको जवाफ दिंदै हिड्ने फुर्सद पनि कहाँ पाउँथ्यो र? तर पनि विवेकशील साझा युवा संगठनका संयोजक अब्दुस मियाँले सामाजिक सञ्जालबाटै भद्र जवाफ दिए, “व्यक्ति समूहमा जोडिन्छ, किनभने एउटा व्यक्तिले भन्दा समूहले बढि काम गर्न सक्छ। समूह ठूलो भए त्यसलाई संगठित गर्नुपर्छ, किनभने एउटा समूहले भन्दा संगठनले बढि जिम्मेवार भएर काम गर्न सक्छ। अत: प्राकृतिक विपत होस् या अन्य कुनै समस्या, सिङ्गो संगठन चलायमान हुँदा कसैको टाउको दुखाइ नहोस्।”

विवेकशील साझा प्रति आशा र बिश्वाश भएका नागरिकले टिप्पणी गरे, “आफूभन्दा ठूलो र जिम्मेवार संगठनले सेवा गरेको देख्दा केहि व्यक्ति वा समूहलाई हीनताबोध भयो भन्दैमा हामीले हाम्रो संगठन र परिचय लुकाउनुपर्ने, छिपाउनुपर्ने वाध्यता छैन। अक्सर, आफ्नो संगठनप्रति विश्वाश नभएकाहरु परिचय लुकाउँछन् किनकि संगठनको नाम र परिचय खुले उनीहरुलाई अरुले सहयोग गर्दैनन्।”चेतना रहोस्, विवेकशील साझा पार्टीले मूलत: राजनीति गर्छ, परेको बेलामा समाज सेवा पनि गर्छ र आफ्नो परिचय लुकाउँदैन।

केहि महिना हामीसँगै हिडेका स्वघोषित विवेकशीलहरुलाई थाहा हुनुपर्ने होईन, हाम्रो पार्टी र हाम्रो चुनाव चिन्ह नै हाम्रो राजनीतिक पहिचान हो भनेर? हाम्रा स्वयंसेवकहरुले पहिचानको लागि टिशर्ट र टोपी लगाएका थिए, सदस्यता बाँडेका थिएनन् अनि समाजसेवामा राजनीति मिसायो भन्नु जत्तिको हाँस्यास्पद वाक्य अरु के होला?

विवेकशील साझा कल्याणकारी लोकतन्त्रमा विश्वास गर्छ र यो परोपकारी राज्य व्यवस्थाको वकालतकर्ता पार्टी हो। यसको सोझो अर्थ के हो भने विवेकशील साझा पार्टीको स्थापना लोक कल्याणका लागि र समाजसेवाका लागि भएको हो। अक्सर राजनीतिक लाभका लागि हिड्नेहरुले मात्रै बुझ्दैनन् राजनीतिको मूख्य कर्म भनेकै समाजसेवा हो भनेर । प्राकृतिक प्रकोपका बेला निस्वार्थ भावले काम गरिरहेका विवेकशील साझाका स्वयंसेवकहरुलाई राजनीति गरे भन्ने आरोप लगाउनेहरुले हावाहुरी प्रभावित क्षेत्रमा आफ्नो श्रोत, संयन्त्र र पार्टी सदस्यहरु नभएकै कारण सामाजिक सञ्जालमा रोईलो गरेको हामीले नबुझेका हौं र ?

दोश्रो कारण- प्रदेश नं ३ को संसद सचिवालयमा विवेकशील साझाले पठाएको पत्रबारे। विवेकशील साझा पार्टीको गत पुस २८ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी छोडेर जानेहरुलाई कारवाही गरी पार्टीको प्रतिनिधित्व गर्दै ३ नं प्रदेश सभामा भएका २ जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको हो, त्यहि निर्णयको कार्यान्वयन गर्दै चैत १० गते संसद सचिवालयमा पत्र पठाईएको हो। यस्पछि भने स्वघोषित नैतिकवानहरुले अलि बढि नै रोईलो गर्न थाले, उनीहरुको रोदन सञ्जालका भित्ताहरुमा प्रष्ट देख्न सकिन्छ।

सांसद पद नै जोखिममा पर्ने भएपछि कथित विवेकशील नेपाली दल सर्वोच्च अदालत पुग्यो, तसर्थ यसबारे अदालतले जे निर्णय गरेपनि विवेकशील साझा न्याँयालयको उच्च सम्मान गर्दछ, त्यसैले यो थप टिप्पणी गरिरहनुपर्ने विषय रहेन। तर कुर्तक सहितको प्रचारबाजी रोकिएन, आफूलाई विवेकशील नेपाली दलको केन्द्रीय सदस्य भएको बताउने एकजनाले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ईमानदारीता र नैतिकता खोई ? भनेर प्रश्न गरेका छन्। कतिपय कुर्तकहरुको जवाफ कुतर्कले नै दिनुपर्छ या यस्ता कुतर्कको जवाफ नदिएपनि हुन्छ।

जसरी अंग्रेजीमा एउटा भनाई छ ‘गुड क्वेस्चन गुड आन्सर, ब्याड क्वेस्चन नो आन्सर।’ विवेकशील साझाको मूल नेतृत्वले यहि फर्मुला अपनाएको छ यतिखेर । तर कुतर्कीहरु गोयबल्स शैलीमा प्रस्तुत हुन थालेपछि जवाफ दिनैपर्छ। ती प्रश्नकर्ताले सोधेका छन् कारवाही भएकै दिन आँशु चुहाए जस्तो किन गरियो?

पार्टी फुटेपछिको पहिलो पत्रकार सम्मेलनमा विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आँशु चुहाए जस्तो गरेका हैनन्, आँशु नै चुहाएका हुन् बरु त्यो आँशु तपाईहरु जस्ता बरालिएर हिड्ने बालापन भएका स्वघोषित नेताहरुको यादमा होईन, बैकल्पिक राजनीतिमा विश्वासको मुना पलाउँदै गरेका लाखौं शुभचिन्तकको सम्मानमा खसेको थियो। यसको पुष्टि आउने समयले अझ बलियो गरी गर्नेछ।

तत्कालीन समयमा रवीन्द्र मिश्रले लेखेको प्रेमपत्रबारे पनि प्रश्न छ- खोई नैतिकता, खोई ईमानदारिता? लामो यात्रामा संगसंगै जाने प्रतिज्ञालाई लात हानेकाहरुलाई कडा आलोचना गर्नुको साटो प्रेम पत्र लेख्नेसंग नैतिकताको प्रश्न उठाउनेले आफूले कुन नैतिकता लिएर पार्टी दर्ता गर्न गएका होलान् नि?

ती मित्रहरुलाई सम्झना हुनुपर्ने हो रवीन्द्र मिश्रले पटक पटक भन्दै आएका छन् मान्छे हूँ गल्ती गरूँला तर बेईमानी गर्दिन। तिनै मिश्रको नेतृत्व र लाखौं शुभचिन्तकको भरोसा नैतिकवान भएन भनेर भागेर जानेहरुले आज कुन मुखले नैतिकताको प्रश्न गर्दैछन्?

तराजु चुनाव चिन्ह लिएर समानुपातिक सांसद बनेका रमेश पौड्याल र विराजभक्त श्रेष्ठ प्रदेश संसदमा कुन पार्टीका सांसद हुन् भनेर हामीले सोध्नै नपाउने पनि नैतिकताको परिभाषाभित्र पर्छ र?

केहि मित्रहरु संख्या र प्रतिशतको दुहाई दिदै हिडिरहेका छन? संख्या थियो भने दल किन दर्ता नगरेको? सुदूरपश्चिम र कर्णाली प्रदेशमा भेला गर्न जाँदा १ जना पनि सदस्य पनि उपस्थित नभएपछि कोहलपुरबाट फर्किनु विवेकशील साझाको दोष हो या निर्वाचन आयोगको?

विवेकशील साझासँग सांसदको सिट नरहेपनि फरक नपर्ला तर भोलि मतदाताले हाम्रो भोट फिर्ता पाउँ, हामीले तराजुमा भोट हालेका हौ स्माईलीमा होईन भनेर माईतीघरमा उभिन आए भने के हुन्छ? मतदाताले नै आएर अदालतको ढोका ढकढकाए भने के हुन्छ? माईतीघरमा प्ले कार्ड बोकेर उभिदा र कोटेश्वरमा परागका खोल टिपेर सफा गर्दा मात्रै तपाईहरुको नजरमा सुसंस्कृत राजनीतिको पक्षधर भईन्छ भने त्यो केटाकेटी राजनीतिको परिभाषासँग हामी कहिल्यै सहमत हुदैनौं। माफ गर्नुस् मित्रहरु तपाईहरुको यो बालापन राजनीति हुटिट्याउँले आकाश थाम्छु भनेझै मात्र हो।

विवेकशील साझा पार्टी यस्का शुभचिन्तक र सदस्य अनि नेतृत्वको बलबुतामा उभिएको पार्टी हो। यो बैकल्पिक राजनीतिक शक्ति मात्रै होईन, देश रुपान्तरणका लागि निर्विकल्प शक्ति पनि हो। हाम्रो राजनीतिक लाईनको मुख्य खम्बा मध्ये पारदर्शिता पनि एक हो तर आज भन्नैपर्छ पारदर्शिताका नाममा बस्त्र विहीन हुन हामीलाई स्वीकार्य छैन। केही थान मानिसहरु विवेकशील शब्द आफ्नो पेवा भए जसरी विवेकशील नेपाली दलबाट आएकाहरुले पार्टी छोडेर गईसके पनि किन विवेकशील शब्द राखेको भनेर रोईलो गर्दैछन। यस्को तर्कसंगत जवाफ छ हामीसँग हामी नामका विषयमा आसन्न महाधिवेशनमा   छलफल गर्नेछौ। तर प्रश्न जसरी कुतर्कसंगत ढंगले आईरहेका छन नि त्यस्को जवाफ भने यो हुन सक्दैन, त्यस्को सिधा जवाफ हो नेपाली शब्दकोषबाट झिकिएको शब्दको कपिराईट तपाईहरुको कसरी भयो?

अरु पार्टीबाट आएकालाई देख्नै नसहने, दाह्री कपाल फूलेकालाई रिटायर्ड भएर घर जा भन्ने,आफूभन्दा बिद्वानसंग ईर्ष्याले जल्ने, संगठन निर्माणभन्दा माईतीघरमा फोटो खिचाउन रमाउने, युवाको नाममा सिर्जनात्मक हुनुको सट्टा आक्रोशित हुने,आफ्नै पार्टीको संयोजकलाई नामै तोकेर बोल्नु नबोल्नु बोल्ने कुन सुसंस्कृत राजनीतिभित्र पर्दों रहेछ?

अर्को एउटा हाँस्यास्पद वाक्य पनि देखियो कतै, रवीन्द्रले पार्टी कम्पनी जसरी चलाए भनेर, विद्धान मित्रहरुलाई यति जानकारी हुनुपर्ने हो कि रवीन्द्र मिश्र व्यक्तिगत जीवन त्याग गरेर राजनीतिमा आएका हुन् ।कम्पनी व्यापारीहरुको हुन्छ र व्यापारीले कहिल्यै व्यक्तिगत लाभको त्याग गर्दैन। यसरी लेख्दै गर्दा विद्धानहरुले बडो गज्जबसँग रवीन्द्रको हनुमान भनिदिने पनि गरेका छन, त्यसो भन्दा पनि हामीलाई खासै आपत्ति हुदैन किनकी नेतृत्वलाई देवत्वकरण गर्नुहुँदैन भन्नेमा हामी सचेत छौ र सदस्यहरुलाई दास बनाउनु हुँदैन भन्नेमा हाम्रो नेतृत्व सचेत छ।

हामी रवीन्द्रसँग मुन्टो बटारेर हिड्न सक्छौ, टेबलमा बहश गर्न सक्छौ, नेतृत्वको कार्यशैली कहींकतै गलत हुनपुगे सचेत गराउन सक्छौं तर छाती चौडा पारेर भन्न मन लाग्छ देश रुपान्तरणको महायात्रामा हामी छुट्टै फेसबुके गुट बनाएर कहिल्यै भाग्दैनौ। यो तपाईहरुलाई जवाफ मात्रै होईन प्रतिवद्धता पनि हो।

बैकल्पिक राजनीतिको नाममा अरुलाई खराब देखाएर देश परिवर्तन गर्छु भन्ने भ्रमबाट साथीहरु मुक्त होऊन् भन्ने कामना गर्दछु।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...