भौतिक पूर्वाधारमन्त्री महासेठबाट लगानीबारे जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ शनिबार राजधानीमा आयोजित नेपाल लगानी सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा लगानीबारे जानकारी दिँदै । तस्बिरः प्रदीपराज वन्त,रासस
Loading...

काठमाडौँ।
मुलुकको विकासमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले शुक्रबारदेखि जारी अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलनअन्तर्गत आज दोस्रो दिनका कार्यक्रम शुरु भएका छन् ।

होटल सोल्टी क्राउन प्लाजामा भइरहेको सम्मेलनमा दिगो यातायात पूर्वाधार र कृषि तथा जडीबुटीको विषयमा छलफल भइरहेको छ । नेपालको पूर्वाधार विकासमा कसरी अन्तर्रा्ष्ट्रिय सहयोग जुटाउन सकिन्छ भन्ने विषयमा सो क्षेत्रका जानकारले आफ्नो धारणा राख्दै नेपालमा लगानीका लागि तयार रहेको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अध्यक्षता गरेको आजको पहिलो सत्रमा सडक, रेल, जलयातायातलगायत क्षेत्रका लगानीका विविध आयामबारे छलफल भएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले नेपाल सरकारले ठूला भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको भन्दै गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको चरणमा रहेको बताए । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सन् २०१९ र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल सन् २०२० अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ ।

मनकामना, चन्द्रागिरी र कालीञ्चोकमा केबलकार सफलतापूर्वक सञ्चालन आइसकेको र गण्डकी, कोशी र कर्णाली नदीमा जलयातायातको प्रवल सम्भावना रहेको औँल्याउँदै उनले यी पूर्वाधारमा लगानी गरेर उच्च प्रतिफल प्राप्त गर्न सकिने बताए ।

छलफलमा यातायात तथा भौतिक पूर्वाधार क्षेत्रका जानकारले नेपालले अपेक्षित विकास र समृद्धिका लागि तत्काल योजनाबद्ध प्रयास शुरु गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले भौतिक पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...