Loading...

काठमाडौँ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रियता बलियो बनाउन दलहरुबीच एकता आवश्यक भएको बताएका छन। राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनद्वारा आज आयोजित कार्यक्रममा चन्दले मुलुकमा सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्र र राष्ट्रिय अखण्डताका लागि राजसंस्थासहितको प्रजातन्त्र कायम गर्नुपर्ने बताएका छन ।

पछिल्लो समय राष्ट्रियता कमजोर हुँदै गएकाले सबै राजनीतिक शक्तिहरुबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राष्ट्रियताको संरक्षण र समृद्धिका लागि सबै राजनीतिक दलबीच सहकार्य र एकता हुनुपर्नेमा जोड दिए । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने भने पनि वाइड बडी प्रकरणको छानबिन नगरेकामा उनले चिन्ता व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अर्का अध्यक्ष पशुपति शम्शेर जबराले उक्त पार्टीले हिन्दू राष्ट्र कायम गर्न, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारविरुद्ध देशव्यापी रुपमा राजनीतिक गतिविधिलगायत चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरेको बताए ।

यसैबीच राप्रपाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष कमल थापाले सबै राजनीतिक शक्ति अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलनको माग गरे । सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गर्न आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष थापाले जनसङ्घर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिए । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा जनसङ्घर्ष परिचालन समितिका गठन गरिएको छ । समितिको सल्लाहकारमा पार्टी अध्यक्ष थापा, वरिष्ठ नेता दीपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिवमा महामन्त्री भास्कर भद्रा रहेका छन ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...