प्रेस चौतारी र प्रेस सेन्टर चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्वीरः नारायण अधिकारी, चितनव, रासस
Loading...

चितवन।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए। उनले भने, “लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ?” यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने भन्दै उनले त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताए।

त्यसैअन्तर्गत चन्द नेतृत्वको समूहका गतिविधिलाई सरकारले नियन्त्रणमा लिएको नेपालको भनाइ थियो । उनले भने, “नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरुको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ ।”

वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए । राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको नेता नेपालको भनाइ थियो ।

राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे। उनले भने, “व्यक्तिको स्वतन्त्रता होे धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ ।” उनले नेपालमा खुलारूपमा क्रिश्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छुट नदिएको बताए । नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो ।

नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भने “माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस, म छुँदा’नी छुन्नँ ।” विसंं २०५२ मा पार्टी्भित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उनको भनाइ थियो ।

मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने बताए । अर्को प्रसङ्गमा पार्टीको बैठक बसेर निर्णय हुन नसकेका कारण नेताले आफ्ना गुनासो बाहिर पोख्नुपरेको बताए। नेतृत्वले चाहेमा एक साताभित्र पार्टीको तल्लो तहसम्म एकता गर्न सकिने उनले दाबी गरे।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...