Loading...

सुर्खेत ।
प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताए ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथनबिना बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने अभियान सफल नहुने बताए। उनले भने, “यसका लागि दलीय पहलकदमी जरुरी छ, नेताहरूले यो अभियानको अगुवाइ गर्न हुनुपर्छ ।”

अध्यक्ष रावतले प्रदेश विभाजनले कर्णाली र बाँके–बर्दियाबीचको भावनात्मक सम्बन्धलाई कमजोर बनाएको टिप्पणी गरे । कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारीले एउटै अञ्चलमा रहेका बाँके–बर्दिया र सुर्खेतबीच व्यापारिक मात्र नभई सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का सदस्य नरेन्द्र शर्माले साझा सवालमा अलग प्रदेश भनेर मौन बस्न नहुने धारणा राखे । अन्तरक्रियामा व्यवसायीले अन्य जिल्लाको कर्णालीको राजधानी सुर्खेतसँग दूरी छोटिँदै गए पनि प्रादेशिक विभाजनले भावनात्मक दरार उत्पन्न गराएको बताए । व्यवसायीले औद्योगिक विकासका लागि सुर्खेतलाई दक्षिणी नाका तथा बाँके–बर्दियालाई प्रशासनिक छरितोका लागि सुर्खेत आवश्यक पर्ने निचोड निकालेका थिए ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...