Loading...

सुर्खेत ।
विवेकशील साझा पार्टी कर्णाली प्रदेशले सरकारी स्तरमा मेडिकल कलेज खोल्न प्रदेश सरकारसँग माग राखेको छ । कालिकोटका आगलागी पिडितका लागि राहत रकम बुझाउन आईतबार मुख्यमन्त्री कार्यालय सुर्खेत पुगेको विवेकशील साझा पार्टी कर्णाली प्रदेशको टोलीले मेडिकल कलेज खोल्न मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग मौखिक माग गरेको हो । कर्णाली प्रदेशको भौगोलिक विकटता, गरीबी र मानव विकाश सुचकांकको संवेदनशीलता समेतलाई मध्यनजर गरि जनताका छोराछोरीले आफ्नै प्रदेशमा मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था गर्न माग गरिएको पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले बताए । कर्णाली प्रदेशमा सरकारी स्तरबाट मेडिकल कलेज सञ्चालन गर्न पर्याप्त पूर्वाधार भएको पनि दाहालले दाबी गरे । दाहालका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्न सकिने र सुर्खेत स्थित ३ सय शैयाको प्रदेश अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्न सकिने छ । शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व हुनुपर्ने हाम्रो पार्टीको नीति रहेको र कर्णाली प्रदेशका लागि आवश्यकता समेत भएकाले मुख्यमन्त्रीलाई मेडिकल कलेज खोल्नका लागि ध्यानाकर्षण गराईएको उनले बताए । जनताको रगत र पसिनाबाट स्थापित मध्यपश्चिम विश्वविद्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँफुले चाहेको विषय पढ्न पाउनु कर्णालीवासीको नैसर्गिक अधिकार भएको बताउँदै दाहालले विश्व विद्यालय वा प्रतिष्ठान अन्तर्गत तत्काल मेडिकल कलेज स्थापनामा प्रदेश सरकार जुट्नुपर्ने दाहालले माग गरे । मुख्यमन्त्री शाहीले कर्णालीका जनताको आवश्यकताका आधारमा यो विषयमा छलफल चलाईने प्रतिक्रिया दिए ।
दाहाल नेतृत्वको विवेकशील साझा पार्टीको टोलीले कालिकोटको पताला गाउँपालिकाको न्यौपाने बस्तिका आगलागी पिडितहरुको आवास निर्माणका लागि पार्टीको कर्णाली प्रदेश समितिको तर्फबाट १ लाख ५१ हजार रुपैयाँको चेक मुख्यमन्त्री शाहीलाई बुझाएको थियो । आफ्ना पार्टी सदस्य र शुभेच्छुकहरुबाट संकलन गरिएको उक्त रकम आगलागी पिडितको आवास निर्माणका लागि मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरिएको दाहालले बताए । आगलागी पिडितको आवास निर्माणमा सहयोग गर्ने विवेकशील साझा पहिलो राजनीतिक दल भएको भन्दै मुख्यमन्त्री शाहीले खुशि व्यक्त गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकार आवास निर्माणका लागि प्रयत्नरत रहेको बताए। आगलागीबाट पिडित परिवारहरुको पुनस्र्थापनाका लागि अग्नि पिडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गर्ने निर्णय कर्णाली प्रदेश सरकारको ३२ औं मन्त्रीपरिषद् बैठकले गरिसकेको स्मरण गराए। कालिकोटको न्यौपाने बस्तिमा गत पुस ८ गते राती २ वजे भएको आगजनीबाट ३३ घरपरिवार विस्थापित भएका छन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...