Loading...

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको विश्लेषण गरिनुपर्ने बताएका छन । पुस २७ गते अर्थात् पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने माग राख्दै राप्रपा (प्रजातान्त्रिक) ले हस्तान्तरण गरेको ज्ञापन पत्र बुझ्दै आज मुख्यमन्त्री शाहीले पृथ्वीनारायण शाहले गरेका राम्रा÷नराम्रा कामको विश्लेषण हुनुपर्ने बताए । “पृथ्वी जयन्तीका लागि माग गरिएको सार्वजनिक बिदा राष्ट्रिय सरोकारको विषय भएकाले गम्भीर भएर देशव्यापी रुपमा छलफल गर्नुपर्छ,” मुख्यमन्त्री शाहीले भने, “सबैको चित्त बुझ्ने गरी निष्कर्षमा पुग्न जरुरी छ ।”

ज्ञापनपत्र हस्तान्तरण गर्दै राप्रपा (प्रजातान्त्रिक)का नेता कविराम पुरीले पृथ्वीनारायण शाहको इतिहास रक्षा गर्न नसके देशलाई नै अन्याय हुने बताए । “आज पृथ्वीनाराण शाहको इतिहास मेटाइए भोलि हाम्रो इतिहास पनि मेटिने पक्का हो,” नेता पुरीले भने, “यसका लागि बेलैमा वर्तमान सरकारले सही निर्णय लिनुपर्छ ।”

नेपालगञ्जमा सार्वजनिक विदा

 

नेपालगञ्ज ।
नेपालको केन्द्रिय सरकारले देशभरी सार्वजनिक विदा न दिएपनि नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णय गरेको हो । नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि, वडा कार्यालयलगायतमा बिदाको निर्णय गरेको हो ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...