ओलीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं।नेपाल र भारतबीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेका हुन्।
‘प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न बैठक आह्वान गरेका छन्।’अर्यालले भने।
बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतका राजनीतिक दल, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल–भारत सीमाबारे जानकारहरुको सहभागिता हुनेछ।
भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भू–भाग पारेको भन्दै विरोध भइरहेको छ।
सत्तारुढ नेकपानिकटको विद्यार्थी संगठन अनेरास्ववियू, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निकटको भातृसंगठन नेपाल विद्यार्थी संघले सीमाकाबारेमा भारतले सार्वजनिक गरेको नक्साको विरोध गरिरहेका छन्।
शुक्रबार पनि भारतीय दूतावासनजिक विभिन्न समूहले प्रदर्शन गर्दै विरोध गरेका थिए। परराष्ट्र मन्त्रालयले यही कात्तिक २० गते प्रेस विज्ञप्तिमार्फत् कालापानी क्षेत्र नेपालको भू–भाग भएको स्पष्ट पारिसकेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो–‘कालापानी क्षेत्र नेपालको भू–भाग हो।’
फाइल तस्वीर
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here